काठमाडौं, ७ कात्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले संविधान, संघीयता र लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि जनतामाझ पुग्न लागेको बताएका छन्।
शनिबार पार्टी कार्यालय पेरिसडाँडामा दुई महिने राष्ट्रिय जागरण अभियानको शुभारम्भ गर्दै उनले जनताको त्याग र बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु पार्टीको प्रमुख दायित्व भएको बताए।
नेपालले जनताको घरदैलोमा पुगेर गुनासा, सुझाव र अपेक्षा सुन्ने तथा विगतका कमीकमजोरीको आत्मसमीक्षा गरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले बेरोजगारी, युवाको विदेश पलायन र जनताका दैनिक समस्यालाई प्राथमिकताका साथ उठाउने पनि बताए।
पार्टीले विगतमा गरेका काम र उपलब्धिबारे जनतालाई जानकारी गराउँदै गलत आरोपको तथ्यका आधारमा प्रतिवाद गर्ने उनको भनाइ थियो। राष्ट्रियतामाथि आँच आउने कुनै पनि गतिविधि स्वीकार्य नहुने उनले स्पष्ट पारे।














