धनगढी, २५ असोज । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि ३७ अर्ब ७० करोड ३९ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ।
नयाँ सरकार गठन भएको दुई महिनापछि आइतबार आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले बजेट प्रस्तुत गरेका हुन्। यसअघि तत्कालीन अर्थमन्त्री विक्रमसिंह धामीले ल्याएको बजेटकै आकारलाई निरन्तरता दिइएको छ।
बजेटका लागि आन्तरिक राजस्वबाट १ अर्ब ७२ करोड, संघीय सरकारबाट प्राप्त हुने विभिन्न अनुदान तथा राजस्व बाँडफाँडबाट रकम जुटाउने लक्ष्य राखिएको छ।
साथै, अघिल्लो आर्थिक वर्षको बचतबाट ९ अर्ब ३५ करोड रुपैयाँ परिचालन गर्ने अनुमान गरिएको छ। यसअघि तत्कालीन कमलबहादुर शाह नेतृत्वको सरकारले असार १ गते प्रस्तुत गरेको बजेट प्रदेशसभाबाट पारित हुन सकेको थिएन।
एमालेको समर्थनमा नेकपाका खगराज भट्ट मुख्यमन्त्री बनेपछि नयाँ सरकारले बजेट ल्याएको हो।














