काठमाडौँ, २६ असोज । चीनका लागि नेपालको आवासीय राजदूतमा सिफारिस भएका डा. कल्याणराज शर्माले नेपाल–चीनबीच भएका पुराना सम्झौता कार्यान्वयन, व्यापार घाटा न्यूनीकरण, चिनियाँ लगानी वृद्धि र विपद् व्यवस्थापनमा सहकार्यलाई प्राथमिकतामा राखेका छन्।
संसदीय सुनुवाइ समितिमा पेस गरेको कार्ययोजनामा शर्माले नयाँ सम्झौता गर्नुभन्दा पुराना प्रतिबद्धतालाई परिणाममुखी बनाउने बताएका छन्। रसुवागढीस्थित मितेरी पुल, स्याफ्रुबेंसी–रसुवागढी सडक, काठमाडौँ चक्रपथ विस्तार र केरुङतर्फको कनेक्टिभिटीलाई उनले प्राथमिकतामा राखेका छन्।
नेपालको व्यापार घाटा कम गर्न नेपाली उत्पादनलाई चिनियाँ बजारमा पुर्याउने योजना पनि उनले अघि सारेका छन्। नेपाली अर्थोडक्स चियालाई नमुना परियोजनाका रूपमा निर्यात गर्ने तथा कफी, अलैँची, जडीबुटी, पस्मिना, गलैँचा र हस्तकलाको बजार विस्तारका लागि पहल गर्ने उनको तयारी छ।
त्यस्तै, नेपालमा सार्वजनिक ऋणको भार नबढ्ने गरी चिनियाँ लगानी र प्रविधि भित्र्याउने उनको योजना छ। जलविद्युत् र सिमेन्टमा सीमित लगानीलाई सूचना प्रविधि, कृषि प्रशोधन तथा हरित उद्योगसम्म विस्तार गर्न पहल गरिने उनले बताएका छन्। पर्यटनतर्फ बढी खर्च गर्ने र लामो समय बस्ने पर्यटक आकर्षित गर्न लक्षित कार्यक्रम सञ्चालन गर्ने योजना पनि कार्ययोजनामा समेटिएको छ।
शर्माले नेपाल–चीनका सीमा नाकाको नियमित सञ्चालन, स्तरोन्नति तथा पारवहन सम्झौताअन्तर्गत उपलब्ध चिनियाँ बन्दरगाहको उपयोगलाई समेत महत्त्व दिएका छन्। केरुङतर्फ रेलमार्ग विस्तारको सम्भावनाबारे संवाद अघि बढाउने उनको योजना छ।
यसैगरी, बाढीपहिरो, हिमताल विस्फोट र जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण गर्न चीनसँग संयुक्त पूर्वसूचना प्रणाली, स्याटेलाइट प्रविधि र विपद् प्रतिकार्यमा सहकार्य विस्तार गर्ने प्रस्ताव उनले गरेका छन्।
शर्माले कार्यभार सम्हालेको पहिलो सय दिनभित्र पुराना सम्झौताको समीक्षा र दूतावासको आधारभूत तथ्याङ्क तयार गर्ने बताएका छन्। आफ्नो कार्यकालको मूल्याङ्कन बैठकको सङ्ख्याभन्दा लगानी वृद्धि, प्रविधि हस्तान्तरण, निर्यात विस्तार र विपद् व्यवस्थापनमा प्राप्त उपलब्धिका आधारमा हुनुपर्ने उनको धारणा छ।














