काठमाडौं, २२ असोज । सरकारले सिफारिस गरेका तीन वटा अध्यादेश राष्ट्रपति कार्यालय पुगेका छन्।
बिहीबार साँझ करिब ५ बजे अध्यादेश राष्ट्रपति कार्यालय पुगेका हुन्।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले भूमिसम्बन्धी, वनसम्बन्धी र विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
विपद्सम्बन्धी अध्यादेशमा विपद्का कारण बेपत्ता भएका व्यक्तिलाई हालको १२ वर्षे व्यवस्थाको सट्टा ४५ दिनमै मृतक घोषणा गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ।
त्यस्तै, भूमिसम्बन्धी अध्यादेशमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने विषय समेटिएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता कृष्णबहादुर शाहीका अनुसार अध्यादेश कार्यालयमा प्राप्त भए पनि राष्ट्रपतिसमक्ष पेश हुन भने बाँकी छ।














