जनकपुर, २२ असोज । जनकपुरधाम उप महानगरपालिकाले छाडा चौपाया व्यवस्थापनका लागि निर्माण गरेको गौशाला (कान्जी हाउस) प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको देखिएको छ।
लाखौँ रुपैयाँ खर्च गरेर पूर्वाधार निर्माण गरिए पनि बजार तथा सडकमा छाडा चौपायाको समस्या भने यथावत् देखिन्छ। कान्जी हाउसमा स्थलगत अवलोकनका क्रममा थोरै संख्यामा मात्र छाडा चौपाया राखिएको भेटिएको छ। तर जनकपुरका विभिन्न सडक तथा बजार क्षेत्रमा अझै ठूलो संख्यामा छाडा चौपाया खुलेआम हिँडिरहेको अवस्था देखिन्छ। यसले छाडा चौपाया नियन्त्रण तथा व्यवस्थापनका लागि निर्माण गरिएको संरचनाको उपयोगितामाथि प्रश्न उठाएको छ।
यस्तै, कान्जी हाउसमा छाडा चौपायाको उपचारका लागि राखिएको औषधिमध्ये ‘Intermactin’ नामको औषधि म्याद गुज्रिएको अवस्थामा फेला परेको छ। उक्त औषधिको उत्पादन मिति २०२३/०९ र म्याद सकिने मिति २०२६/०९ उल्लेख गरिएको छ।
म्याद सकिएको औषधि चौपायाको उपचारमा प्रयोग भएमा त्यसले थप स्वास्थ्य जोखिम निम्त्याउन सक्ने भएकाले औषधि व्यवस्थापन तथा उपचार प्रणालीप्रति पनि प्रश्न उठेको छ।
जनकपुर उप महानगरपालिकाले छाडा चौपाया नियन्त्रण गर्न कान्जी हाउस निर्माण गरे पनि सडक तथा बजार क्षेत्रमा छाडा चौपायाको उपस्थिति घट्न नसकेको स्थानीयको गुनासो छ। छाडा चौपायाका कारण सडक आवागमनमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने गरेको बताइन्छ।
यस विषयमा नगरपालिकाको स्वास्थ्य शाखासँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन। औषधि कसरी म्याद गुज्रिएको अवस्थामा रह्यो र त्यस्ता औषधि चौपायाको उपचारमा प्रयोग भएका छन् वा छैनन् भन्ने विषयमा नगरपालिकाको आधिकारिक धारणा आउन बाँकी छ।














