जनकपुर, ९ असोज । गुठीको अतिक्रमित जग्गा खाली गराउने अभियानको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ।
गुठीकुट्टी घरजग्गा व्यवस्थापन संघर्ष समितिले विभिन्न क्षेत्रमा प्रदर्शन गर्दै गुठी संस्थान, जनकपुरधाम उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको हो।
समितिका अध्यक्ष सन्तोष साहले पुस्तौंदेखि गुठी तथा कुट्टीको जग्गामा बसोबास गर्दै आएका नागरिकलाई अतिक्रमणकारीका रूपमा व्यवहार गरिएको भन्दै आपत्ति जनाए।
उनका अनुसार जनकपुरधाममा करिब ३० देखि ३५ हजार मानिस गुठीको जग्गामा बसोबास गर्दै आएका छन्।
समितिले जग्गाको यकिन तथ्यांक तयार गरी उचित मुआब्जासहित रैथानी नम्बरीमा परिणत गर्न माग गरेको छ। माग सम्बोधन नभए थप आन्दोलन गर्ने चेतावनी समितिले दिएको छ।














