काठमाडौं, ९ असोज । लगातारको वर्षासँगै पहिरो खसेपछि काठमाडौं आवतजावत गर्ने प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्।
पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्तिलोकपथमा पहिरोका कारण यातायात प्रभावित भएको हो। धादिङको कृष्णभिरसहित विभिन्न स्थानमा पहिरो खसेपछि पृथ्वी राजमार्गमा अर्को सूचना नभएसम्म सम्पूर्ण सवारी आवागमन रोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
पहिरो पन्छाउने प्रयास भइरहे पनि लगातार वर्षाका कारण समस्या भएको प्रहरीले जनाएको छ। त्यस्तै, काभ्रेको रोसी गाउँपालिकाका विभिन्न स्थानमा पहिरो खसेपछि बीपी राजमार्ग पनि अवरुद्ध भएको छ।
वर्षाको जोखिमलाई ध्यान दिँदै काभ्रे खण्डमा रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ। पहिरोका कारण कान्तिलोकपथमा समेत आवागमन बन्द गरिएको छ।
मौसममा सुधार नआएसम्म जोखिमपूर्ण यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।














