काठमाडौं, २९ भदौ । हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा तथा दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको बिहानैदेखि ठूलो भीड लागेको छ।
भक्तजनको सहजताका लागि पशुपति क्षेत्र विकास कोषले बिहान ३ बजेदेखि नै मन्दिरका चारवटै ढोका खुला गरेको छ। दर्शनार्थीका लागि मित्रपार्क, जयवागेश्वरी, एयरपोर्ट–तिलगङ्गा र पिङ्गलास्थानतर्फबाट प्रवेश गर्ने चारवटा दर्शन मार्ग व्यवस्था गरिएको छ।
कोषका अनुसार बिहानको समयमा भक्तजनले करिब आधा घण्टामै दर्शन गर्न सक्ने अवस्था रहेको छ। वर्षाका बाबजुद पनि व्रतालु महिलाहरू लाममा बसेर पशुपतिनाथको दर्शन गरिरहेका छन्।
तीजको सुरक्षा व्यवस्थाका लागि पशुपति क्षेत्रमा करिब ४ हजार सुरक्षाकर्मी र विभिन्न २४ धार्मिक तथा सामाजिक संस्थाका ८५५ स्वयंसेवक परिचालन गरिएको छ। दर्शनार्थीका लागि विभिन्न स्थानमा चन्दन वितरणको समेत व्यवस्था गरिएको छ।
तीजका अवसरमा पशुपतिनाथसहित काठमाडौं उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, डोलेश्वर, त्रिपुरेश्वर र मक्खन महादेवलगायत शिवालयमा पनि भक्तजनको घुइँचो लागेको छ।














