काठमाडौं, २७ भदौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले असाधारण प्राकृतिक विपद्लाई आधार बनाएर नेपालमा लगानी गर्न जोखिमपूर्ण रहेको धारणा बनाउन नहुने बताएका छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)को कार्यक्रममा बोल्दै उनले सम्भावित बाढी, फ्ल्यास फ्लड र क्लाउडबर्स्टबाट आयोजना सुरक्षित हुने गरी पर्याप्त सुरक्षा मापदण्ड अपनाउनुपर्ने बताए।
तर हजारौँ वर्षमा एकपटक आउने असाधारण विपद्लाई आधार बनाएर अत्यधिक कडा डिजाइन मापदण्ड बनाउँदा जलविद्युत् आयोजना आर्थिक रूपमा अव्यवहारिक हुन सक्ने उनको भनाइ छ।
घिसिङले भोटेकोशी–त्रिशूली करिडोरका बाढी प्रभावित जलविद्युत् आयोजनाका लगानीकर्ताको मनोबल बढाउन सरकारले विशेष राहत तथा सहुलियत प्याकेज ल्याउनुपर्ने माग गरे।
साथै, सुरुङ र पावर हाउसमा आपत्कालीन निकासको व्यवस्था गर्नुपर्ने तथा विपद् उद्धारमा ऊर्जा मन्त्रालयको भूमिका थप प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए।














