काठमाडौँ, २४ भदौ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीको आधिकारिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले पुनरावलोकनका लागि निस्सा दिएसँगै आफूहरूको आधाभन्दा बढी विजय भइसकेको दाबी गरेका छन्।
भक्तपुरमा आयोजित १३३औँ बीपी जयन्तीको विचार गोष्ठीमा बोल्दै देउवाले निर्वाचन आयोगले दबाबमा विशेष महाधिवेशन पक्षधरलाई मान्यता दिएको आरोप लगाए। विशेष महाधिवेशनका प्रतिनिधिको सनाखत नगरी प्रक्रिया अघि बढाइएको भन्दै आफूहरूले कानुनी बाटो रोजेको उनको भनाइ थियो।
देउवाले पार्टीको आधिकारिकता आफूहरूबाट खोस्ने प्रयास भइरहेको आरोप लगाउँदै सर्वोच्च अदालतबाट न्याय पाउने विश्वास व्यक्त गरे। उनले नेपाली कांग्रेसको रुख चुनाव चिह्न र चारतारे झण्डा आफूहरूले नै पाउने दाबीसमेत गरे।














