जनकपुर, २२ भदौ । दलित बालबालिकाको शिक्षा, अधिकार र सामाजिक सुरक्षा सुनिश्चित गर्न राज्यका निकाय, विद्यालय, परिवार र समुदायबीच प्रभावकारी समन्वय आवश्यक रहेको सरोकारवालाले बताएका छन्।
दलित महिला सङ्घ धनुषाले जनकपुरधाममा आयोजना गरेको ‘दलित बालबालिकाका सवाल र सरोकारवाला निकायको भूमिका’ विषयक कार्यक्रममा वक्ताहरूले दलित बालबालिकालाई विद्यालयमा नियमित गराउन, विभेद अन्त्य गर्न र समान अवसर प्रदान गर्न सबै तहका सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिए।
जनकपुर उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले उपमहानगर क्षेत्रमा अझै करिब ६०० बालबालिका विद्यालयबाहिर रहेको तथ्याङ्क रहेको भन्दै उनीहरूलाई विद्यालयमा ल्याउन पहल भइरहेको बताए। उनले बालविवाह तथा छुवाछूत अन्त्यमा बाल क्लबको भूमिका महत्वपूर्ण हुने धारणा राखे।
दलित महिला सङ्घ धनुषाका अध्यक्ष सरस्वती मण्डलले बालबालिकालाई शिक्षातर्फ आकर्षित गर्न परिवार, विद्यालय र समुदायले विशेष ध्यान दिनुपर्ने बताइन्। अन्य वक्ताहरूले विद्यालयमा हुने विभेद र अभिभावकमा शिक्षाको महत्वबारे पर्याप्त जानकारी नहुनु विद्यालय छाड्ने प्रमुख कारण रहेको उल्लेख गरे।
कार्यक्रममा दलित बालबालिकालाई समान शैक्षिक अवसर, विभेदरहित वातावरण, सीपमूलक शिक्षा र बालअधिकारको प्रभावकारी कार्यान्वयनका लागि तीनै तहका सरकार तथा समुदायबीच निरन्तर सहकार्य आवश्यक रहेकोमा जोड दिइयो।














