काठमाडौं, २१ भदौ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संयुक्त राष्ट्रसंघको महासभामा नेपालको प्रस्तुती तथ्यपरक, वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताएका छन्।
आइतबार सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा बोल्दै थापाले प्रधानमन्त्री वालेन्द्र शाहको विदेश भ्रमणलाई औपचारिकतामा सीमित नगरी राष्ट्रिय हितमा ठोस उपलब्धि हासिल गर्ने गरी उपयोग गर्न सुझाव दिए।
उनले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेका समस्या, विशेषगरी भोटेकोसी बाढीबाट भएको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने बताए। न्यून हरितगृह ग्यास उत्सर्जन गर्ने नेपालले जलवायु न्याय, हानि–नोक्सानी र अनुदानमा आधारित जलवायु वित्तका लागि प्रभावकारी रूपमा पैरवी गर्नुपर्ने उनको भनाइ छ।
थापाले प्रधानमन्त्रीलाई विज्ञ, विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञसँग परामर्श गरी महासभाको तयारी गर्न आग्रह गरे। महासभा सहभागितालाई ‘ग्राण्ड शो’ नभई देशका लागि ठोस उपलब्धि हासिल गर्ने अवसरका रूपमा सदुपयोग गर्न उनले सरकारको ध्यानाकर्षण गराए।














