काठमाडौं, २१ भदौ । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युन र परराष्ट्रमन्त्री शिशिर खनालबीच आइतबार सिंहदरबारमा भेटवार्ता भएको छ।
भेटमा भोटेकोसी बाढीपछि जारी खोज, उद्धार तथा राहतसँगै द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको हो। मन्त्री खनालले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार टोली पठाउनुका साथै मानवीय सहायता र राहत सामग्री उपलब्ध गराएकोमा दक्षिण कोरियाप्रति आभार व्यक्त गरे।
उनले विपद्पछिको पुनर्निर्माणलाई ‘बिल्ड ब्याक बेटर’ अवधारणाअनुसार अघि बढाउने र कोरियाबाट निरन्तर सहयोगको अपेक्षा रहेको बताए।
विदेशमन्त्री चोले नेपालमा पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सहयोग गर्न आफ्नो सरकार इच्छुक रहेको बताए। उनले जलवायु परिवर्तनबाट नेपालले भोगिरहेको क्षति र त्यसका लागि आवश्यक अन्तर्राष्ट्रिय वित्तीय सहयोग जुटाउन दक्षिण कोरियाले आवाज उठाउने प्रतिबद्धता जनाए।
दुवै मन्त्रीले नेपाल–दक्षिण कोरिया सम्बन्धलाई थप मजबुत बनाउँदै श्रम, व्यापार, लगानी, प्रविधि र विकास साझेदारीमा सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।














