काठमाडौं, १९ भदौ । रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोजी तथा उद्धार कार्य तीव्र पारिएको छ।
इन्जिनियर श्रीराम न्यौपानेका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिसको आवाज सुनेको जानकारी दिएको छ।
एकभन्दा बढी व्यक्तिको आवाज सुनिएको र उद्धार टोलीले ‘नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौँ’ भनेपछि भित्रबाट प्रतिक्रिया समेत आएको बताइएको छ।
नेपाली सेना र सशस्त्र प्रहरीको टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्य जारी राखेको छ। सुरुङभित्रबाट आवाज सुनिनुलाई उद्धारका लागि आशाजनक संकेतका रूपमा लिइएको छ।














