जनकपुर, २१ जेष्ठ। मधेश प्रदेश सरकारमा दलित समुदायबाट प्रतिनिधित्व गर्दै खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्माले जातीय विभेद तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको अवसरमा सम्पूर्ण नागरिकमा शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्री दासले यस अवसरमा जातीय विभेद र छुवाछूतजस्ता अमानवीय सामाजिक कुरीतिहरूको अन्त्य गर्न राज्य, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिक सबै एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले जातीय समानता, सामाजिक न्याय र समावेशी समाज निर्माण आजको प्रमुख आवश्यकता भएको उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको समान अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।
मन्त्री दासले छुवाछूत तथा विभेदका घटनाहरू अझै विभिन्न रूपमा देखिनु दुःखद भएको उल्लेख गर्दै यस्ता कुप्रथाविरुद्ध कडा सामाजिक जागरण आवश्यक रहेको पनि स्पष्ट पार्नुभयो ।
उहाँले युवापुस्तालाई सचेत र सक्रिय भूमिका खेल्न आग्रह गर्दै शिक्षामार्फत सोच परिवर्तन गर्दै समानताको समाज निर्माण गर्न सबैले योगदान दिनुपर्ने सन्देश दिनुभयो ।
जातीय विभेद उन्मूलन दिवसले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै मन्त्री दासले सरकार यस अभियानप्रति पूर्ण रूपमा प्रतिबद्ध रहेको पनि बताउनुभयो ।














