काठमाडौँ, २१ जेष्ठ । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले जातीय भेदभाव तथा छुवाछुत उन्मूलनका लागि सङ्घीय संसद् पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।
राष्ट्रिय दलित आयोगद्वारा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले दलित समुदायका समस्या समाधानमा संसद् गम्भीर रहेको उल्लेख गरे ।
उनले दलित समुदायको सम्मान, सुरक्षा, समान अवसर र न्याय सुनिश्चित नभएसम्म समतामूलक समाज निर्माण सम्भव नहुने बताए । जातीय विभेद अन्त्य सरकार मात्र नभई राज्य, राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नागरिकको साझा दायित्व भएको उनको भनाइ छ ।
सभामुख अर्यालले आर्थिक सशक्तीकरण, सामाजिक चेतना र कानुनी कार्यान्वयनलाई विभेद अन्त्यका प्रमुख आधारका रूपमा अघि बढाउनुपर्नेमा जोड दिए । साथै दलित अधिकारसम्बन्धी कानुन निर्माण र संशोधनमा संसद् सकारात्मक रहने प्रतिबद्धता व्यक्त गरे ।














