काठमाडौं, २० जेष्ठ । कृत्रिम कम्पनी -शेल कम्पनी) स्थापना गरी बैंक कर्जाको दुरुपयोग गरेको आरोपमा राम जानकी हेल्थ फाउण्डेसनका अध्यक्ष ओमप्रसाद पाण्डे पक्राउ परेका छन् ।
केन्द्रीय अनुसन्धान ब्यूरो -सीआईबी-ले उनलाई धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ स्थित जानकी मेडिकल कलेज परिसरबाट पक्राउ गरेको जनाएको छ ।
पाण्डेले महोत्तरीको बर्दिवासस्थित इन्स्टिच्युट अफ एग्रिकल्चर, फरेस्ट एण्ड भेटेनरी साइन्सेज प्रालि नामक कम्पनीमार्फत डीपीआरबिना तथा धितोको अस्वाभाविक मूल्यांकन गराई प्रभु बैंकबाट कर्जा लिएको आरोप छ ।
सीआईबीका अनुसार उक्त कर्जा तोकिएको प्रयोजनभन्दा अन्यत्र प्रयोग गरी पटक–पटक दुरुपयोग गरिएको पाइएको छ । उनीविरुद्ध बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










