काठमाडौं, १८ जेठ । श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले प्रतिनिधिसभामा दिएको नेपाल–भारत सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधिसभामा बोल्दै प्रधानमन्त्री शाहले नेपाल र भारतबीचका सीमा विवाद कूटनीतिक संवाद र अध्ययनका आधारमा समाधान गर्नुपर्ने बताएका थिए । उनले नेपालले पनि केही स्थानमा भारतको भूमि मिचेको जानकारी आफूले प्रधानमन्त्री बनेपछि थाहा पाएको उल्लेख गरेका थिए ।
यस अभिव्यक्तिको विरोध गर्दै श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (हर्क साम्पाङ) ले विज्ञप्ति जारी गरेका छन् । पार्टीले प्रधानमन्त्रीको भनाइले नेपालले उठाउँदै आएको लिपुलेक–लिम्पियाधुरा फिर्ताको मागलाई कमजोर बनाउने प्रयास गरेको आरोप लगाएको छ ।
पार्टीले सरकार सीमा सुरक्षा र भौगोलिक अखण्डताप्रति पर्याप्त प्रतिबद्ध नदेखिएको पनि टिप्पणी गरेको छ । साथै, प्रधानमन्त्रीको अभिव्यक्तिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको आधिकारिक धारणा र अवस्थाबारे अन्योल सिर्जना गर्न सक्ने जनाएको छ ।














