काठमाडौं, ७ जेष्ठ । नेकपा -एमाले) ले पूर्वभीआईपीहरूको उपचार खर्चबापत राज्यकोषबाट खर्च भएको करिब साढे तीन करोड रुपैयाँ फिर्ता गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन थालेपछि एमालेले पूर्वराष्ट्रपति रामवरण यादव, पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली र झलनाथ खनाल को उपचार खर्चबापत निकासा भएको रकम राष्ट्र बैंकमा जम्मा गरेको हो ।
स्रोतका अनुसार, करिब ३ करोड ८५ लाख रुपैयाँ फिर्ता गरिएको छ । जनस्वास्थ्य ऐन, २०७५ अनुसार विदेशमा उपचार खर्च सरकारले व्यहोर्न नमिल्ने भए पनि विभिन्न मन्त्रिपरिषद् निर्णय र कार्यविधिका आधारमा रकम निकासा गरिएको थियो ।
सर्वोच्च अदालतले हालै भीआईपी उपचार खर्चसम्बन्धी निर्देशिका खारेज गरेपछि र अख्तियारमा उजुरी परेपछि रकम फिर्ता गरिएको बताइएको छ ।
यद्यपि केही नेताहरूको उपचार खर्च र अन्य विवादित भुक्तानीमाथि अनुसन्धान अझै जारी छ ।















