काठमाडौं, ९ मंसिर । नेपाली सेना र भारतीय सेनाबीचको संयुक्त सैन्य अभ्यास ‘सूर्यकिरण’ को २०औँ संस्करण रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा सुरु भएको छ।
मङ्गलबारदेखि सुरु भएको अभ्यासको मध्यपश्चिम पृतनापति उपरथी पूर्णबहादुर खत्रीले उद्घाटन गरेका हुन्। मंसिर २२ गतेसम्म सञ्चालन हुने अभ्यासमा दुवै देशका गणस्तरका सैनिक सहभागी छन्।
अभ्यासका क्रममा विपद् व्यवस्थापन, जङ्गल युद्धकला र मानवीय सहायतासम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक तालिम सञ्चालन गरिनेछ।
सन् २०१० देखि नेपाल र भारतमा पालैपालो हुँदै आएको यो अभ्यासको १९औँ संस्करण भारतको पिथौरागढमा आयोजना गरिएको थियो। संयुक्त अभ्यासले दुई देशका सेनाबीच आपसी विश्वास, सहकार्य र व्यावसायिक क्षमता अभिवृद्धि गर्ने नेपाली सेनाले विश्वास लिएको छ।














