जनकपुर, ९ मंसिर । नेपाल पत्रकार महासंघ धनुषा जिल्ला कार्यसमितिले पत्रकारहरूको सामूहिक गिरफ्तारीको माग गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाअगाडि धर्ना दिएको छ।
महासंघ धनुषाका अध्यक्ष पुरन साहको नेतृत्वमा बुधबार आयोजित धर्नामा ‘पत्रकारलाई पटक–पटक होइन, एकै पटक सामूहिक गिरफ्तार गर’ भन्ने नारा लगाइएको थियो।
धर्नापछि महासंघको टोलीले प्रमुख जिल्ला अधिकारीलाई भेटेर आफ्नो माग तथा पत्रकारहरूले भोग्नुपरेका समस्या र प्रेस स्वतन्त्रतासम्बन्धी विषयमा ध्यानाकर्षण गराएको थियो।
महासंघले पत्रकारको पेशागत सुरक्षा, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।














