काठमाडौं, १४ वैशाख । अर्थ मन्त्रालयले नेपालको वर्तमान आर्थिक अवस्थाको विस्तृत विश्लेषणसहित स्थितिपत्र सार्वजनिक गरेको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पदभार ग्रहण गरेसँगै यस्तो प्रतिवेदन तयार पार्ने घोषणा गरेका थिए । स्थितिपत्रमा आगामी आर्थिक वर्षदेखि औसत ७ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य राखिएको छ ।
यससँगै ५ देखि ७ वर्षभित्र प्रतिव्यक्ति आय ३ हजार अमेरिकी डलरभन्दा माथि पु¥याउने र अर्थतन्त्रको आकार करिब १ सय अर्ब डलर नजिक लैजाने योजना प्रस्तुत गरिएको छ । अर्थ मन्त्रालयका अनुसार यी आधारहरूले नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुकमा रूपान्तरण गर्ने सम्भावना देखिएको छ ।
ऊर्जा क्षेत्रतर्फ आगामी ५ वर्षभित्र विद्युत जडित क्षमता १५ हजार मेगावाट पु¥याउने लक्ष्य राखिएको छ । साथै राष्ट्रिय गौरवका प्रमुख आयोजनाहरू २ वर्षभित्र सम्पन्न गर्ने योजना पनि अघि सारिएको छ । पूर्वाधार विकास, रणनीतिक महत्वका नयाँ आयोजना र निजी क्षेत्रको लगानी आकर्षित गर्ने नीतिमार्फत आर्थिक गतिविधि तीव्र बनाउने अपेक्षा मन्त्रालयले गरेको छ ।
स्थितिपत्रले समष्टिगत आर्थिक तथा सामाजिक अवस्थाको यथार्थपरक विश्लेषण प्रस्तुत गरेको दाबी गरिएको छ । विगतमा आर्थिक नीतिहरूले अपेक्षित परिणाम दिन नसक्नुमा कार्यान्वयन कमजोर हुनु, वित्तीय अनुसारले अभावको प्रभावकारी विनियोजन हुन नसक्नु प्रमुख कारण रहेको उल्लेख गरिएको छ ।
मन्त्रालयले यस दस्तावेजलाई आगामी नीति निर्माण, स्रोत परिचालन, प्राथमिकता निर्धारण तथा कार्यान्वयन सुधारका लागि मार्गनिर्देशकका रूपमा उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।













