काठमाडौं, १३ कात्तिक । बङ्गालको खाडीमा विकसित ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा देखिन थालेको छ। यसको असरले कोशी प्रदेशसहित तराईका विभिन्न क्षेत्रमा वर्षा तथा हिमाली भेगमा हिमपात सुरु भएको छ।
भारतको आन्ध्र प्रदेश र विशाखापट्टनम आसपास विकसित न्यूनचापीय प्रणाली नेपाल प्रवेश गरेसँगै मौसममा परिवर्तन आएको हो। नेपाल आइपुग्दा प्रणाली कमजोर बनेकाले तीव्र हावाहुरीको जोखिम कम भए पनि भारी वर्षा र हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार चक्रवातको प्रभाव बढी रहनेछ भने शनिबारदेखि क्रमशः कमजोर हुँदै जानेछ। आइतबारदेखि मौसममा सुधार आउने अपेक्षा गरिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै सरकारले सुरक्षा निकाय तथा सम्बन्धित सरकारी कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन दिएको छ। जोखिमयुक्त क्षेत्रमा सचेतना फैलाउनुका साथै पर्यटन बोर्डले जोखिमपूर्ण पदयात्रा र पर्वतारोहण तत्कालका लागि स्थगित गर्न आग्रह गरेको छ। हवाई सुरक्षामा पनि विशेष सतर्कता अपनाउन निर्देशन दिइएको छ।
सरकारले नागरिकलाई अनावश्यक त्रास र भ्रामक सूचनामा विश्वास नगर्न तथा मौसमसम्बन्धी जानकारीका लागि आधिकारिक स्रोतको सूचना मात्रै अनुसरण गर्न अपिल गरेको छ।














