काठमाडौं, १२ कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले काठमान्डु गोर्खाजलाई ८ विकेटले पराजित गर्दै प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ।
काठमान्डुले दिएको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। जनकपुरका मोइन अलीले अविजित ५८ रन बनाए भने सैफ हसनले नटआउट ४० रनको योगदान दिए।
यसअघि टस जितेर ब्याटिङ गरेको काठमान्डु १९.३ ओभरमा ११५ रनमा समेटिएको थियो। उसका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। जनकपुरका राहुल यादवले चार विकेट लिए भने सैफ हसनले दुई विकेट झारे।
यसअघि जनकपुर पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनले पराजित भएको थियो। काठमान्डु विरुद्धको जितसँगै जनकपुरले प्रतियोगितामा आफ्नो खाता खोलेको छ।














