सिरहा, १२ कात्तिक । सिरहाको नवराजपुर गाउँपालिका–५ झाझपट्टीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले १५२ किलो १६० ग्राम गाँजा बरामद गरेको छ।
बुधबार राति करिब १२ बजे सशस्त्र प्रहरी बल नेपाल, नं. ७ गण सिरहाअन्तर्गत बीओपी नवराजपुरबाट खटिएको सात सदस्यीय गस्ती टोलीले भारततर्फ लैजाँदै गरिएको अवस्थामा गाँजा फेला पारेको हो।
प्रहरी टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्ति नौ बोरा गाँजा छाडेर फरार भएका थिए। कालो प्लास्टिकमा प्याक गरी बोराभित्र राखिएको गाँजा प्लास्टिकसहित तौल गर्दा १५२ किलो १६० ग्राम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीका एसपी सुमन जंग थापाका अनुसार बरामद गाँजा आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित निकायमा बुझाउने तयारी भइरहेको छ।














