काठमाडौं, १२ कात्तिक । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका परम्परागत तथा तडकभडकयुक्त शुभकामना आदानप्रदान कार्यक्रम बन्द गर्ने निर्णय गरेका छन्। उनले अब यस्ता कार्यक्रमको सट्टा सरसफाइ र विपन्न वर्गलाई सहयोग गर्ने रचनात्मक गतिविधिमा जोड दिन निर्देशन दिएका छन्।
पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा थापाले हलभित्र सोफामा बसेर ताली बजाउने औपचारिक कार्यक्रम नगर्ने स्पष्ट पारे।
उनले मंसिर महिनाभरि ‘हामी तयार छौँ’ नारासहित देशव्यापी अभियान सञ्चालन गरिने जानकारी दिँदै पार्टीको चारवर्षे कार्ययोजना बनाएर गतिविधि अघि बढाइने बताए।
थापाले प्रतिपक्षी दलका रूपमा सरकारका कामको निगरानी गर्ने र कानुनी शासनको पक्षमा दृढतापूर्वक उभिने पनि बताए। तिहार र छठपछि लिडरसिप एकेडेमी, इलेक्सन ब्युरो तथा गभर्नन्स इन्स्टिच्युट मार्फत काम सुरु गरिने र नेता–कार्यकर्ताको क्षमता तथा रुचिअनुसार जिम्मेवारी बाँडफाँट गरिने उनको भनाइ छ।














