काठमाडौं, ११ वैशाख । अर्थ मन्त्रालयको चासोपछि नेपाल स्टक एक्स्चेन्जले सीडीएस एण्ड क्लियरिङ लिमिटेड की प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई पदबाट फिर्ता बोलाएको छ ।
शुक्रबार बसेके नेप्से सञ्चालक समितिको बैठकले सीडीएससीमा सीईओको जिम्मेवारी सम्हालिरहेकी पन्दाकलाई फिर्ता बोलाउने निर्णय गरेको हो । नेप्सेले उनलाई सहायक कम्पनीमा प्रतिनिधि सञ्चालकका रूपमा पठाएको थियो र पछि सोही समितिले सीईओको जिम्मेवारी दिएको थियो ।
सीईओका रूपमा कार्यरत रहँदा सूचीकृत कम्पनीलाई दुईवटा आइजिन दिने नीति ल्याउने तयारी गरेपछि उनी विवादमा तानिएकी थिइन् । सो विषयमा अर्थ मन्त्रालयले चासो देखाएपछि नेप्सेले उक्त निर्णय लिएको एक अधिकारीले जनाए ।
सीडीएससी सञ्चालक समितिमा नेप्सेको तर्फबाट चुडामणी चापागाईं अध्यक्ष तथा पन्दाक सदस्यका रूपमा प्रतिनिधित्व गर्दै आएकी थिइन् । यस्तै, मन्त्रालयबाट अशोक गुरागाईं र शरद निरौला सदस्य छन् भने स्वतन्त्र सञ्चालकका रूपमा सुमन कुमार नेपाल रहेका छन् ।














