जनकपुर, ३० फागुन। तत्मा बौद्धिक समाज धनुषाले प्रदेश स्तरीय सम्मेलनको तयारीलाई लक्षित गर्दै बृहत छलफल कार्यक्रम सम्पन्न गरेको छ।
समाजका अध्यक्ष ई. रामबाबू दासको अध्यक्षतामा सम्पन्न बैठकमा आगामी बैशाख महिनामा आयोजना गर्न लागिएको प्रदेश स्तरीय तत्मा सम्मेलनको तयारी व्यवस्थापन तथा कार्यक्रमको रूपरेखाबारे विस्तृत छलफल गरिएको हो।
बैठकमा सम्मेलनलाई व्यवस्थित, प्रभावकारी तथा सहभागितामूलक बनाउन आवश्यक तयारीका विभिन्न पक्षमाथि विचार–विमर्श गरिएको बताइएको छ।
सम्मेलनमार्फत तत्मा समुदायको शिक्षा, सामाजिक सशक्तीकरण, अधिकार तथा समग्र विकासका विषयमा गम्भीर बहस गर्ने योजना बनाइएको समाजले जनाएको छ।
कार्यक्रममा सहभागीहरूले सम्मेलन सफल बनाउन संगठन विस्तार, समुदायबीच जनचेतना अभिवृद्धि, युवाहरूको सक्रिय सहभागिता तथा विभिन्न सरोकारवालासँग समन्वय गर्नुपर्ने विषयमा सुझाव दिएका थिए।
साथै, सम्मेलनलाई ऐतिहासिक र परिणाममुखी बनाउने उद्देश्यका साथ तयारीलाई तीव्र बनाउने निर्णय पनि गरिएको छ।
बैठकमा समाजका पदाधिकारी, बुद्धिजीवी, समाजसेवी तथा समुदायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
सहभागीहरूले आगामी सम्मेलनले तत्मा समुदायको पहिचान, अधिकार र विकासका मुद्दालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।














