काठमाडौं, २९ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको नेता चयन गर्ने विधान संशोधन गर्ने तयारी गरेको छ ।
हालको विधानअनुसार दलको नेता चयनमा पार्टीका सम्पूर्ण साधारण सदस्यले मतदान गर्न पाउने व्यवस्था रहेको भए पनि यो व्यवहारिक नभएको निष्कर्षपछि संशोधन गर्न लागिएको हो ।
रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार समयअनुकूल बनाउन आवश्यक संशोधन गरिनेछ । विधान संशोधनपछि संसदीय दलको नेता चयन प्रक्रिया अघि बढाइने पार्टीको तयारी छ ।
पार्टीले संसदीय दलको नेता सर्वसम्मत रूपमा वरिष्ठ नेता बालेन्द्र शाह लाई बनाउने तयारी गरेको छ । पार्टीका सभापति रवि लामिछाने रहने र प्रतिनिधिसभा निर्वाचनपछि दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार शाह हुने सहमति यसअघि नै भएको थियो ।
प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको परिणामअनुसार रास्वपाले झण्डै दुईतिहाइ नजिक (१८२) सिट प्राप्त गरेको छ । समानुपातिकतर्फ निर्वाचित उम्मेदवारको टुंगो लागेपछि विधान संशोधन गरी दलको नेता चयन गरिने जनाइएको छ ।












