जनकपुर, २२ असोज । धनुषाको जनकपुरधाममा चाकु प्रहारबाट एक युवकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जनकपुरधामको पेठिया बजार नजिक बिहीबार साँझ करिब साढे ७ बजे भएको घटनामा २१ वर्षीय आमिन साफीको मृत्यु भएको हो। चाकु प्रहारबाट २२ वर्षीय इम्तियाज राईन घाइते भएका छन्। उनको उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा इर्साद खानलाई प्रहरीले पक्राउ गरेको छ। उनको टिकटकमा ‘गुण्डा’ नामको आईडी रहेको बताइएको छ।
चाकु प्रहारबाट गम्भीर घाइते भएका आमिनलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि सोही अस्पतालमा राखिएको छ।
घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। घटनामा अन्य व्यक्तिको संलग्नता तथा विवादको कारणबारे समेत थप अनुसन्धान भइरहेको छ।














