रुकुम पश्चिम, २६ फागुन । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ भाग्ले नजिक सानी भेरी नदी किनारमा दुई किशोरी मृत अवस्थामा भेटिएका छन् भने अर्की एक किशोरी बेपत्ता भएकी छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार बाँफिकोट गाउँपालिका–३ गरालागोठकी १४ वर्षीया उर्मिला वली र १२ वर्षीया कल्पना वलीको शव मंगलबार नदी किनारमा फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार उनीहरूसँगै गएकी १२ वर्षीया सपना वली भने अझै बेपत्ता छिन् । विवाहबाट घर फर्किने क्रममा सानी भेरी नदी तर्ने क्रममा उनीहरू बगेर दुर्घटनामा परेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको र बेपत्ता किशोरीको खोजीका लागि स्थानीयवासी र प्रहरीको टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।














