काठमाडौं, १७ फागुन । सरकारले मध्यपूर्वमा बढ्दो युद्ध र सुरक्षा जोखिमलाई ध्यानमा राख्दै खाडी मुलुक जाने कामदारका लागि श्रम स्वीकृति स्थगित गरेको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीका अनुसार अर्को सूचना जारी नभएसम्म वैदेशिक रोजगारीका लागि सबै श्रम स्वीकृति रोकिएको हो ।
मध्यपूर्वमा इजरायल, अमेरिका र इरान बीचको तनाव चर्किँदै गएपछि सरकारले यो निर्णय लिएको जनाएको छ । इरानले युनाइटेड अरब इमिरेट्स, कतार, ओमान र कुवेत लगायत देशमा रहेका अमेरिकी सैन्य बेसहरूलाई लक्षित आक्रमण गरेपछि त्यहाँ रहेका नेपालीको सुरक्षा चासो बढेको छ ।
सरकारले विमानस्थलमा रहेका श्रमिकलाई घर फर्किन अनुरोध गरेको छ भने २४ सै घण्टा कल सेन्टर तयारी अवस्थामा राखिएको जनाएको छ ।
आवश्यक परे नेपालीको उद्धारका लागि पनि तयारी भइरहेको मन्त्री भण्डारीले बताए ।














