जनकपुर, २५ असोज । नेपालीको महान् पर्व बडादसैँ आजदेखि सुरु भएको छ। दसैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक घटस्थापना गरी जमरा राख्ने र दुर्गा देवीको पूजा आराधना गरिँदैछ।
आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन मनाइने यस पर्वमा नौ दिनसम्म नवदुर्गाको पूजा गरिन्छ। घटस्थापनाका लागि बिहान ११:४७ बजेको शुभ साइत निर्धारण गरिएको छ।
दसैँलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउने परम्परा छ। नवरात्रभर महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ भने विजयादशमीका दिन मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिन्छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजयादशमी कात्तिक ४ गते परेको छ। उक्त दिन टीका ग्रहणका लागि बिहान १०:२६ बजेको साइत उत्तम रहेको छ।
दसैँको अवसरमा रोजगारी, अध्ययन तथा अन्य कामले घरबाहिर रहेका मानिस आफ्नो थातथलो फर्किने क्रम सुरु भएको छ। यस पर्वलाई धार्मिक आस्थासँगै पारिवारिक पुनर्मिलन र आपसी सद्भावको अवसरका रूपमा पनि लिइन्छ।














