काठमाडौं, २४ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जलवायु परिवर्तन र वातावरणीय संकटप्रति विश्वका शक्ति राष्ट्र तथा नेपालका राजनीतिक नेतृत्व गम्भीर नभएको भन्दै चिन्ता व्यक्त गरेका छन्।
शनिबार नेपाल मधुमेही समाजको ३६औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले वैज्ञानिक चेतावनी र प्रमाणलाई बेवास्ता गर्नु दुर्भाग्यपूर्ण भएको बताए।
यादवले चुरे संरक्षणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै चुरे विनाश रोक्न सके हिमालको हिउँ, पहाडको पर्यावरण र तराईको उर्वर भूमि जोगाउन सकिने बताए। आफ्नो कार्यकालमा यस विषयमा पटक–पटक ध्यानाकर्षण गराए पनि सरकार र राजनीतिक दलले गम्भीरतापूर्वक नलिएको उनको गुनासो थियो।
कार्यक्रममा मधुमेही समाजलाई उल्लेखनीय योगदान तथा सहयोग पुर्याएको भन्दै शताब्दी महिला नानीबाबा प्रधानलाई नेवारी संस्कृतिअनुसार कदरपत्र प्रदान गरी सम्मान गरिएको आयोजकले जनाएको छ।














