जनकपुर, २५ असोज। नजिकिँदै गरेको चाडपर्वलाई लक्षित गर्दै यात्रुहरूको सुरक्षा तथा सहज आवागमन सुनिश्चित गर्न धनुषा जिल्लाका विभिन्न ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ।
चाडपर्वका बेला सवारीसाधनको चाप बढ्ने र यात्राका क्रममा यात्रु ठगी, बढी भाडा असुली, दुर्व्यवहार तथा अन्य समस्यामा पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यात्रु सहायता कक्ष स्थापना गरिएको हो।
तालुक कार्यालयको निर्देशनअनुसार जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिरोमाइल धनुषाको पहलमा जनकपुर बसपार्क, रामानन्द चोक, मुजेलिया, ढल्केबर, लालगढ र पोर्ताहामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको छ।
यात्रु सहायता कक्षमार्फत टिकट तथा भाडासम्बन्धी गुनासो सुनुवाइ, यात्राका क्रममा हुने ठगी तथा दुर्व्यवहारका घटनामा सहजीकरण, हराएका सामानको खोजतलास र आकस्मिक सुरक्षासम्बन्धी समस्याको समाधानमा सहयोग गरिने जनाइएको छ।
यसका साथै यात्रुहरूको सुविधालाई ध्यानमा राख्दै जिल्ला प्रहरी कार्यालय धनुषा र जिल्ला ट्राफिक प्रहरी कार्यालय जिरोमाइलको अगाडि शुद्ध खानेपानी तथा शौचालयको सुविधासहित रिफ्रेस सेन्टर (Refresh Center) स्थापना गरिएको छ। यसबाट लामो दूरीको यात्रा गर्ने यात्रुहरूलाई केही समय आराम गर्न तथा आधारभूत सुविधा उपयोग गर्न सहज हुने अपेक्षा गरिएको छ।
प्रहरीले यात्राका क्रममा कुनै समस्या परेमा नजिकको प्रहरी कार्यालय वा यात्रु सहायता कक्षमा सम्पर्क गर्न अनुरोध गरेको छ। त्यस्तै, आकस्मिक सुरक्षा सहायता तथा प्रहरी सेवाका लागि टोल फ्री नम्बर १०० र ट्राफिक प्रहरी सेवाका लागि १०३ मा सम्पर्क गर्न पनि यात्रुहरूलाई आग्रह गरिएको छ।
चाडपर्वको समयमा सुरक्षित, व्यवस्थित र सहज यात्रा सुनिश्चित गर्न यात्रु सहायता कक्षको सेवा उपयोग गर्न तथा टिकट काट्दा निर्धारित भाडा र आधिकारिक टिकटको सुनिश्चितता गर्न यात्रुहरूलाई अनुरोध गरिएको छ।














