काठमाडौं, १४ फागुन । निर्वाचन आयोगले यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा अन्तर्राष्ट्रिय (वाह्य) दुवै हवाई उडान यथावत सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
आयोगले निर्वाचन सुरक्षा र मतदान प्रक्रियालाई सहजीकरण गर्ने उद्देश्यले गृह मन्त्रालयलाई पत्र लेख्दै आवश्यक वातावरण मिलाउन निर्देशन दिएको हो ।
निर्णयअनुसार उडान टिकट भएका यात्रुलाई विमानस्थल र घर वा होटलसम्म आवतजावत गर्न निजी वा सम्बन्धित एयरलाइन्सका सवारीसाधन प्रयोग गर्न दिने व्यवस्था हुनेछ ।
यसअघि निर्वाचनका बेला आन्तरिक उडान बन्द गर्ने प्रचलन रहेकामा सोही आधारमा नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गर्दै आएको थियो ।














