काठमाडौँ, २६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ११औँ महाधिवेशनले एमालेको आन्तरिक एकता सुदृढ गर्नुका साथै समग्र राष्ट्रिय राजनीतिलाई सकारात्मक दिशामा अघि बढाएको बताएका छन् ।
महाधिवेशनपछिको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले पार्टीभित्रको समूहबन्दी र विवाद टुंगिएको दाबी गरे । ओलीले हाल मुलुकको राजनीति ‘पुराना’ र ‘नयाँ’ दलबीच नभई लोकतन्त्र जोगाउने र विध्वंसलाई अस्वीकार गर्ने पक्षमा ध्रुवीकृत भइरहेको बताए ।
विचारविहीन, सार्वजनिक जवाफदेहिता नभएका र पपुलिष्ट प्रवृत्तिका व्यक्तिहरूले लोकतान्त्रिक प्रणालीलाई चुनौती दिइरहेको उनको आरोप छ ।
रवि लामिछाने र बालेन शाहतर्फ संकेत गर्दै ओलीले ‘अवतारी नायक’ को भ्रम फैलाउने पपुलिज्मले लोकतन्त्र, स्थायित्व र समाजलाई कमजोर बनाउने चेतावनी दिए ।
पपुलिष्ट र पथभ्रष्ट तत्वबाट जनतालाई भ्रममुक्त गर्नुपर्ने भन्दै संविधान र लोकतन्त्रको रक्षा गर्न लोकतान्त्रिक शक्तिबीच संवाद र सहकार्य आवश्यक रहेको उनले बताए ।














