काठमाडौं, १ मंसिर । राजदूतहरूलाई फिर्ता बोलाउने सरकारी निर्णयलाई यथास्थितिमा राख्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश कार्यान्वयन नगरेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध अदालत अवहेलनासम्बन्धी रिट दर्ता गरिएका छन् ।
सर्वोच्च अदालतकी पूर्वप्रधानन्यायाधीश समेत रहेको कार्कीविरुद्ध परेको यो पहिलो अवहेलना रिट हो । अधिवक्ता प्रेम सिलवालले दायर गरेको उक्त रिटको पेसी मंसिर ७ गतेका लागि तोकिएको छ ।
जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारले अघिल्लो सरकारले नियुक्त गरेका ११ देशका राजदूतहरूलाई असोज ३० गते फिर्ता बोलाउने निर्णय गरेको थियो ।
सो निर्णयविरुद्ध दायर रिटमा न्यायाधीश सारंगा सुवेदी र श्रीकान्त पौडेलसमेत रहेको संयुक्त इजलासले कात्तिक १६ गते राजदूत फिर्ता प्रक्रिया रोक्दै निर्णय यथास्थितिमा राख्न आदेश जारी गरेको थियो ।
तर आदेश जारी भइसकेको भोलिपल्टै प्रधानमन्त्री कार्कीले सम्हालिरहेको परराष्ट्र मन्त्रालयले राजदूतहरूलाई काठमाडौं आएर मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो। सोही निर्देशनअनुसार सम्बन्धित राजदूतहरू मन्त्रालयमा उपस्थित भएका थिए ।














