काठमाडौं, ७ कात्तिक । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालमा पछिल्लो समय देखिएका प्राकृतिक विपद्ले जलवायु परिवर्तनको गम्भीर असर उजागर गरेको भन्दै नेपाललाई जलवायु न्याय दिलाउन विश्व समुदायसँग आग्रह गरेकी छन्।
चाइना इन्स्टिच्युट अफ इन्टरनेसनल स्टडिजद्वारा चीनमा आयोजित सन् २०२६ को ग्लोबल गभर्नेन्स फोरम (स्योङआन) सम्मेलनलाई सम्बोधन गर्दै उनले हिमालय क्षेत्रको संरक्षण तथा जलवायुजन्य जोखिम न्यूनीकरणका लागि क्षेत्रीय र अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताइन्।
भण्डारीले नेपाल, चीन, भारतलगायत हिमाली देशबीच मौसमसम्बन्धी तथ्याङ्क आदानप्रदान, हिमनदीको अनुगमन, पूर्वसूचना प्रणाली र विपद् व्यवस्थापनमा सहकार्य विस्तार गर्नुपर्नेमा जोड दिइन्। साथै, जलवायु जोखिम न्यूनीकरणका लागि संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय वित्तीय संस्थाबाट दीर्घकालीन सहयोग आवश्यक रहेको उल्लेख गरिन्।
उनले अन्तर्राष्ट्रिय सम्बन्ध शक्ति नभई कानुनका आधारमा सञ्चालन हुनुपर्ने बताउँदै कमजोर तथा जोखिममा रहेका राष्ट्रका आवाजलाई विश्वव्यवस्थामा उचित स्थान दिनुपर्ने धारणा राखिन्।
गरिबी र भोकमरी अन्त्य, गुणस्तरीय शिक्षा तथा स्वास्थ्य, रोजगारी, सामाजिक न्याय र वातावरण संरक्षणलाई अन्तर्राष्ट्रिय सहकार्यका प्राथमिकता बनाउनुपर्ने उनको भनाइ थियो। नेपाल–चीन सम्बन्ध सांस्कृतिक आदानप्रदान र जनस्तरको आत्मीयतामा आधारित रहेको उल्लेख गर्दै उनले विश्वका साझा चुनौती समाधान गर्न संवाद, सहकार्य र सामूहिक प्रतिबद्धता आवश्यक रहेको बताइन्।














