जनकपुर, ७ कात्तिक । धनुषाको जनकपुरस्थित जनकपुर सिटी हस्पिटलमा शल्यक्रियाका क्रममा एक महिलाको मृत्यु भएपछि उनका आफन्तले चिकित्सकीय लापरवाही भएको आरोप लगाएका छन्।
महोत्तरीको पिपरा गाउँपालिका–७, बनौलीकी ३१ वर्षीया पूजा चौधरीको प्रसूति गराउने क्रममा शल्यक्रिया गर्दा मृत्यु भएको हो। आफन्तका अनुसार उनी शुक्रबार दिउँसो करिब १ बजे अस्पतालमा भर्ना भएकी थिइन् भने करिब १ः३० बजे उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया डा. राजकुमार पण्डितले गरेको पीडित परिवारको भनाइ छ।
मृतकका भिनाजु उस्मनकुमार झाले पूजा लामो समयदेखि डा. रामनरेश पण्डितको सल्लाहअनुसार उपचार तथा फलोअपमा रहेको बताए। चिकित्सककै सल्लाहअनुसार प्रसूति गराउन जनकपुर सिटी हस्पिटल पुगेको उल्लेख गर्दै उनले शल्यक्रियाका क्रममा लापरवाही हुँदा आफ्नो परिवारले सदस्य गुमाउनुपरेको आरोप लगाए।
त्यस्तै, मृतकका श्रीमान् विपिन चौधरीले शल्यक्रियाका क्रममा रगतको व्यवस्थापन सम्बन्धी विषयमा प्रश्न उठाएका छन्। उनका अनुसार रगतको आवश्यकताबारे अञ्चल अस्पतालमा सोधपुछ तथा माग गरिएको थियो, तर जनकपुर सिटी हस्पिटलमा रगतको माग नगरी शल्यक्रिया गरिएको र त्यसपछि श्रीमतीको मृत्यु भएको हो।
परिवारका सदस्यहरूले घटनाको निष्पक्ष छानबिन गरी मृत्युको वास्तविक कारण पत्ता लगाउन तथा दोषी देखिए सम्बन्धित पक्षलाई कारबाही गर्नुपर्ने माग गरेका छन्।
प्राप्त विवरणअनुसार पूजा चौधरी सुरु देखि नै डा. रामनरेश पण्डितको क्लिनिकमा उपचार गराउँदै आएकी थिइन्। डा. पण्डित स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टरसमेत रहेको बताइएको छ।
घटनालाई लिएर परिवारले चिकित्सकीय लापरवाहीको आरोप लगाए पनि मृत्युको वास्तविक कारण र उपचारका क्रममा कुनै लापरवाही भएको वा नभएको विषयमा सम्बन्धित निकायबाट पुष्टि हुन बाँकी छ। अस्पताल प्रशासन तथा सम्बन्धित चिकित्सकको आधिकारिक प्रतिक्रिया उपलब्ध नभएकाले घटनाबारे थप तथ्य सार्वजनिक हुन आवश्यक छ।














