काठमाडौं, ७ कात्तिक । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेसका नेताहरू एकजुट हुन थालेपछि केही व्यक्तिमा असन्तुष्टि र छटपटी देखिएको बताएका छन्।
सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै साहले नेताहरू एकै ठाउँमा उभिनु समाजको विकास र मधेसको सुदृढीकरणका लागि सकारात्मक भएको बताए। उनले मधेसी नेताहरूको एकताले संघीयता बलियो बनाउने र जनतामा आशा जगाउने धारणा राखे।
साहले अग्रगामी मोर्चाबारे भ्रम फैलाउने र नेताहरूलाई अनावश्यक आलोचना गर्ने प्रवृत्तिप्रति सचेत रहन आग्रह गरे। विभाजन र विनाशको राजनीतिलाई अन्त्य गर्दै विकास, समृद्धि, समानता र न्यायको बाटोमा अघि बढ्नुपर्ने उनको भनाइ थियो।














