जनकपुर, ७ कात्तिक । चर्चित संगीत निर्देशक तथा गायक सन्तोष राज सहनीले धनुषाको कमला नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । जनमत पार्टीका केन्द्रीय सचिवसमेत रहेका सहनीले आगामी निर्वाचनमा पार्टीबाट मेयर पदमा प्रतिस्पर्धा गर्ने बताएका हुन् ।
आज जनकपुरमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै सहनीले कमला नगरपालिकाको मेयर पदमा चुनाव लड्ने आफ्नो योजना सार्वजनिक गरेका हुन् । संगीत क्षेत्रमा परिचित सहनीको यो घोषणासँगै उनको राजनीतिक यात्राबारे पनि चर्चा सुरु भएको छ ।
नेपाली, हिन्दी तथा भोजपुरी संगीत क्षेत्रमा आफ्नो पहिचान बनाएका सहनी लामो समयदेखि संगीत निर्देशन तथा गायनमा सक्रिय छन् । उनले भारतीय संगीत तथा चलचित्र क्षेत्रका विभिन्न चर्चित कलाकारसँग सहकार्य गरिसकेका छन् ।
हिन्दी संगीत क्षेत्रमा उदितनारायण झा, दीपा नारायण झा, कुमार सानु, जावेद अली, शान, विनोद राठोड, साधना सरगम, अभिजीत भट्टाचार्य, अनुराधा पौडवाल र अलका याज्ञिकलगायतका कलाकारसँग उनले काम गरेका छन् ।
त्यस्तै, भोजपुरी चलचित्र तथा संगीत क्षेत्रमा दिनेशलाल यादव …निरहुआÚ, खेसारीलाल यादव, पवन सिंह, रवि किशन, अक्षरा सिंह, रानी चटर्जी, काजल राघवानी, शुभी शर्मा, नीलम गिरी र आम्रपाली दुबेलगायतका कलाकारसँग पनि सहनीले संगीत सिर्जना तथा अन्य काममा सहकार्य गरेका छन् ।
संगीत क्षेत्रमा लामो अनुभव हासिल गरेका सहनी अहिले जनमत पार्टीको केन्द्रीय सचिवको जिम्मेवारीमा छन् । मेयर पदमा उम्मेदवारी दिने घोषणासँगै उनी स्थानीय राजनीतिमा सक्रिय हुने तयारीमा देखिएका छन् ।
यद्यपि, कमला नगरपालिकाको विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगारी तथा स्थानीय जनताका समस्यालाई सम्बोधन गर्ने विषयमा उनले विस्तृत योजना सार्वजनिक गरेका छैनन् । आगामी दिनमा उनको राजनीतिक एजेन्डा र चुनावी प्रतिबद्धताबारे थप स्पष्टता आउने जनाएको छ ।














