जनकपुर, २८ कात्तिक । सभामुखद्वारा पदमुक्त गरिएका मधेश प्रदेशका पाँच सांसदले आफूहरूको प्रदेश सभा उपस्थितिबारेको हाजिरी र अन्य सम्बन्धित कागजात प्रमाणित प्रतिलिपि उपलब्ध गराइदिन आग्रह गर्दै प्रदेश सभा सचिवालयमा निवेदन दर्ता गराएको छ ।
कारबाहीमा परेका सांसद सञ्जयकुमार यादव (सर्लाही) र उर्मिलादेवी सिंह (सर्लाही) ले शुक्रवार सचिवालयमा निवेदन दिएर विगत एक वर्षको सम्पूर्ण हाजिरी विवरण उपलब्ध गराउन माग गरेको हो ।
सभामुख रामचन्द्र मण्डलले आफ्नो विरुद्ध प्रस्ताव दर्ता भएको भनी आरोप लगाउँदै पाँच जनालाई बिहीबार पदबाट हटाएका थिए । लगातार १० पटक प्रदेश सभा बैठकमा अनुपस्थित रहेको आधारमा उनीहरूलाई पदमुक्त गरिएको मण्डलको बताए ।
पदमुक्त हुनेमध्ये नागरिक उन्मुक्ति पार्टीकी उर्मिलादेवी सिंह, सञ्जयकुमार यादव, जसपाका मनिषकुमार सुमन (सप्तरी), सिंहासन सा कलवार र सारदा शंकरप्रसाद कलवार समावेश छन् ।















