धनुषा, २५ कात्तिक। आगामीआगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभरका निर्वाचन कार्यालयहरूमा मतदाता नामावली दर्ता गराउने नागरिकहरूको भीड बढ्दो क्रममा छ ।
जनकपुरधामस्थित प्रदेश निर्वाचन कार्यालयमा पनि दर्ता गराउन आउनेको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक अभियान अन्तिम चरणमा पुगेको जानकारी दिँदै समयमै दर्ता हुन सर्वसाधारणलाई आग्रह गरेको छ।
यही कारण कार्यालयमा बिहानैदेखि नागरिकहरूको भीड देखिन थालेको हो । कार्यालयको सेवा समय बिहान १० बजेदेखि सुरु भए पनि मतदाता नामावलीमा नाम दर्ता गराउन चाहनेहरू बिहान ९ बजेदेखि नै लाइनमा उभिने गरेका छन् ।
कतिपय नागरिकहरू विद्यालय, कार्यालय वा अन्य काम छोडेर पनि दर्ता प्रक्रियामा सहभागी भइरहेका छन् । निर्वाचन अधिकृतहरूको भनाइअनुसार, पछिल्ला दिनमा दर्ता गराउनेको संख्या उल्लेख्य रूपमा वृद्धि भएको छ ।
स्थानीय बासिन्दाहरूले आगामी निर्वाचनमा आफ्नो मत प्रयोग गर्न पाउनु लोकतान्त्रिक अधिकार भएको बताउँदै मतदाता नामावलीमा नाम समावेश गराउन उत्साह देखाएका छन् ।














