काठमाडौं, १८ कात्तिक । सप्तरीको महादेवा गाउँपालिकामा कृषि सडक निर्माणमा अनियमितता गरेको आरोपमा ८ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
महादेवा गाउँपालिका–२ अन्तर्गत दोमुहान डगरदेखि खाडो नदी हुँदै भिमबाँधसम्मको सडक निर्माणमा अनियमितता भएको ठहर गर्दै मुद्दा दायर गरिएको आयोगले बताए । आरोपितहरूमा कृषि विकास निर्देशनालय धनुषाका प्रमुख रत्नकुमार झा, कृषि विज्ञ विकासकुमार साह, लेखा अधिकृत चक्रप्रसाद अधिकारी, वडाअध्यक्ष जगदीश मण्डल, साथै उपभोक्ता समितिका हरिनारायण यादव, गंगाराम यादव, सावित्रीदेवी यादव र ठेकेदार हरिशकुमार सिंह रहेका छन् ।
आयोगका अनुसार रु. २३ लाख ५२ हजार रुपैयाँको बजेटमा सम्झौता गरी काम सुरु भए पनि तोकिएको समयभित्र कार्य सम्पन्न नगरी कम काम गरेर बढी भुक्तानी लिएको प्रमाण भेटिएको हो ।
स्थलगत नापजाँचमा ४३७ क्युबिक मिटर देखाइएको कार्यमध्ये केवल २०३ क्युबिक मिटर मात्रै सम्पन्न भएको र यसरी रु. ६ लाख ९० हजारभन्दा बढीको हानि–नोक्सानी भएको आयोगले जनाएको छ ।
आयोगले प्रतिवादीहरूलाई सो रकम फिर्ता गराउनका साथै भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम सजायको माग गरेको छ ।














