काठमाडौं, १८ कात्तिक । नेकपा (माओवादी केन्द्र) भित्र देखिएको असन्तुष्टि अन्ततः विभाजनमा परिणत भएका छन् ।
माओवादी केन्द्रका पूर्व उपमहासचिव जनार्दन शर्मा, पूर्व सचिव राम कार्की, र पूर्व स्थायी समिति सदस्य अञ्जना विशुंखे लगायत नेताहरूले पार्टी परित्याग गर्दै नयाँ राजनीतिक अभियान सुरु गरेका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमार्फत शर्माले ‘प्रगतिशील अभियान, नेपाल’ नामको राजनीतिक अभियानको घोषणा गरेको छ । शर्माले लामो समयदेखि माओवादी केन्द्रको नेतृत्वसँग विचारगत र नीतिगत असहमति रहेको बताउँदै भने,
“दश वर्षे जनयुद्ध र पछिल्ला जनआन्दोलनले उठाएका मुद्दा र जनभावनालाई पार्टी नेतृत्वले बेवास्ता गरेको कारण हामी एकता प्रक्रियाबाट बाहिरिएका हौं ।”
पूर्व सचिव राम कार्कीले पनि अक्षम नेतृत्वका कारण कम्युनिष्ट आन्दोलन कमजोर भएको टिप्पणी गर्दै अब नयाँ दिशाबाट प्रगतिशील शक्तिहरूलाई एकीकृत गर्ने समय आएको बताए ।














