जनकपुर, १७ कात्तिक । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले कवि कोकिल विद्यापतिको योगदान मैथिलीसहित हिन्दी, बंगाली, उडिया, प्राकृत जस्ता भाषामा अतुलनीय रहेको बताएका छन् ।
जनकपुरस्थित विद्यापति चोकमा आयोजित विद्यापति स्मृति पर्व समारोहमा उनले विद्यापतिको मूल भाषा मैथिली भएकाले सबै मैथिली भाषीले गौरव महसुस गर्नुपर्ने बताए ।
ठाकुरले मैथिली नेपालकी दोस्रो ठूली भाषा भए पनि रोजीरोटीको भाषा बन्न नसक्दा त्यसको विकास अवरुद्ध भएको उल्लेख गर्दै सरकारसँग त्यसलाई रोजीरोटीको भाषा बनाउन आग्रह गरे ।
कार्यक्रममा मुख्यमन्त्री जितेन्द्र सोनलले विद्यापतिको सम्मान र मैथिली भाषाको उत्थानका लागि प्रदेश सरकार अग्रसर रहने प्रतिबद्धता जनाए ।
लोसपाका महासचिव परमेश्वर साहले पनि मैथिलीलाई प्रदेशको कामकाजी भाषा बनाउन माग गरे ।














