जनकपुर, ३१ असोज । जनकपुर उपमहानगरपालिका अन्तर्गतको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ प्रहरीले गोली प्रहार गरेको छ ।
बिलबिजक विना सुनचाँदीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले छापा मार्दा स्थानीय व्यवसायीहरूसँग विवाद चर्किएको थियो ।
प्रहरी स्रोतका अनुसार, छापा मार्ने क्रममा व्यवसायीहरूले अवरोध गर्न खोजेपछि स्थिति तनावपूर्ण बनेको थियो । भिड बढेपछि प्रहरीले भीड नियन्त्रण गर्न गोली चलाएको जनाएको छ ।
सो क्रममा जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारी गोली लागी घाइते भएका छन् । उनलाई तत्काल जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनास्थलमा कति राउन्ड गोली प्रहार भएको हो भन्नेबारे छानबिन भइरहेको जनाएको छ । घटनापछि स्थानीय व्यापारीहरू आक्रोशित भएका छन् भने सुरक्षा अवस्था पनि कडा बनाइएको छ ।
यता व्यवसायीहरू भने प्रहरीको ज्यादती भएको आरोप लगाउँदै छन् । उद्योग वाणिज्य संघ र अन्य व्यापारिक संघसंस्थाहरूले घटनाबारे छानबिन गर्न माग गरेका छन् ।














