काठमाडौं, २० भदौ । ललितपुरको गोदावरीमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दोस्रो विधान महाधिवेशन आज शुक्रवार देखि सुरु भएका छन् ।
उद्घाटन सत्रमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै महाधिवेशनलाई औपचारिक रुपमा प्रारम्भ गराउनुभएको छ । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने मूल नाराका साथ सुरु भएको यस महाधिवेशनमा विभिन्न प्रतिवेदन प्रस्तुत हुने कार्यक्रम छ ।
अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव र महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन् ।
त्यसैगरी, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव बडाल, लेखा आयोगका डा. पुष्प कँडेल, निर्वाचन आयोगका डा. विजय सुब्बा तथा सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले आफ्ना प्रतिवेदन पेश गर्ने कार्यक्रम तय भएको छ ।
प्रस्तुत प्रतिवेदनहरूमा महाधिवेशनका सहभागीहरूले समूहगत छलफल गर्नेछन् । यसअघि बिहीबारको सचिवालय बैठकमा फरक धारणा राखेका स्थायी कमिटी सदस्य कर्ण थापाले समेत आज आफ्ना विचार प्रस्तुत गर्ने तयारी गरेका छन् ।
महाधिवेशनस्थलमा अहिले बिहानदेखि नै कार्यकर्ता र समर्थकहरूको भीड बढ्दो छ । कलाकारहरूले झाँकी र सांस्कृतिक प्रस्तुतिमार्फत सहभागीहरूलाई स्वागत गरिरहेका छन् ।














