जनकपुर, ८ साउन । जनकपुर उपमहानगरपालिका–९ स्थित साकेतनगरमा एक एजेन्ट भाडा नतिरी फरार भएका छन् ।
मनिष यादव नामक व्यक्तिले स्थानीय नागेन्द्र प्रसाद यादवको घरमा भाडामा बस्दै आएका थिए । तर, उनले २०८१ सालको पौष महिनादेखि २०८२ सालको साउन महिनासम्मको घरभाडा तिर्न नसकी फरार भएको घरपेटीले जनाएका छन् ।
घरपेटी नागेन्द्र यादवका अनुसार, मनिष यादव विगतदेखि वैदेशिक रोजगारीमा कामदार पठाउने एजेन्टको रूपमा परिचित थिए । लामो समयसम्म भाडा नतिरेपछि यादव सम्पर्कविहीन भएको र फोनसमेत नउठाउने अवस्था आएपछि स्थानीय समाजसेवीहरूको रोहबरमा घरको ताला फुटाइएको हो ।
घरमा कोही छैन, ताला लागेको महिनौं भयो । फोन गर्दा फोन उठाउँदैनन् । अन्ततः समाजका अगुवाहरूको रोहबरमा ताला खोल्न बाध्य भयौं,“ घरपेटी यादवले बताए ।
स्थानीय बासिन्दाहरूका अनुसार, भाडा नतिरेर फरार हुने घटना यस क्षेत्रमा बढ्दो छ र यसले घरधनीहरूलाई समस्यामा पारेको छ ।
समाजमा यस्ता घटनाहरू पुनः नदोहोरोउन् भन्ने उद्देश्यले अबदेखि भाडा सम्झौताको लिखित कागजात अनिवार्य गरिने चेतावनी पनि स्थानीय टोल विकास समितिले दिएको छ ।














